काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई दशा लागेको टिप्पणी गर्नुभएको छ ।
आज आफ्नो समूहनिकट जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्रचण्ड अधीर रहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले प्रचण्डले निर्वाचन जित्न कठिन रहेको बताउनुभयो ।
“हेर दशा लागेको, अब उहाँहरूले चुनाव जित्नुहुन्छ ? २०७४ मा हामीले चुनाव जिताएका थियौँ, चितवनबाट । त्योभन्दा अगाडि बत्ती निभाएर बाकस साटेर चुनाव जिताइएको थियो,” ओलीले भन्नुभयो ।
उहाँले प्रचण्डको प्रवृत्ति ‘फ्लोटिङ’ हुने रहेको पनि औँल्याउनुभयो । “कहिले रोल्पाबाट, कहिले कताबाट, कहिले चितवनबाट चुनाव लड्नहुन्छ ! अब कताबाट हो ?,” ओलीको टिप्पणी थियो ।
उहाँले प्रचण्डलाई समाजवाद आइसकेको पनि कटाक्ष गर्नुभयो । प्रचण्डलाई मात्रै नभएर उहाँका घरधनीलाई समेत समाजवाद आइसकेको टिप्पणी गर्नुभयो । प्रचण्डले आफ्ना नातागोतालाई मात्रै पोसेको आरोप ओलीले लगाउनुभयो ।