काठमाडौं । नेपाली कांग्रेसले सम्पूर्ण एकताका साथ संसद विघटनविरुद्ध आन्दोलन गर्ने सर्वसम्मत निर्णय गरेको हुँदा त्यसबारे पार्टीमा कुनै विवाद नरहेको प्रष्ट्याएको छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख हुँदा त्यसविरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा रहेको र त्यसबारे कुनै अन्यौल नरहेको सो पार्टीले जनाएको छ।
कतिपय संचार माध्यममा नेपाली कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेकोे भ्रमपूर्ण समाचार प्रकाशित भएको हुंदा त्यसलाई स्पष्ट गर्न प्रेस नोट प्रकाशित गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।
‘संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएका हुन्,’ पौडेलद्धारा जारी विज्ञप्तिमा भनएिको छ ।
साथै माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै पारित गरेको मुख्य सचिव पौडेलले बताउनुभएको छ ।