काठमाडौं । प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दाको आज सातौं दिन संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । अघिल्लो साताको आइतबारदेखि उक्त मुद्दामाथि सुनुवाइ चलिरहेको छ । प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा रहेको मुद्दामा निवेदकहरुले बहस गरिरहेका छन् । सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्धका १३ वटा निवेदन रहेका छन् ।
ती निवेदनमा पक्षका कानुन व्यवासायीले संविधानले नदिएको अधिकार प्रयोग गरि विघटन गरेको दावी पेश गरिरहेका छन् । अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्री केपी ओलीले ‘तमासा’ भनेको भन्दै कानूनव्यवसायाले आजको बहसमा प्रश्न उठाएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक इजलासमा प्रश्न उठाउनुभएको हो ।
आज इजलासमा त्रिपाठीले ‘यो तमासा हो श्रीमान्, हामी तमासा गर्न बसको हौं ?’ भनेर त्यसबारे प्रश्न उठाउनुभयो । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बाहिर भइरहेको कुराबारे चर्चा नगर्न आग्रह गर्नुभयो । वरिष्ठ अधिवक्ता त्रिपाठीले ‘कुरा सिरियस छ’ भन्दा प्रधानन्यायाधीश जबराले भन्ुभयो, ‘सबै कुरा सिरियस छ, तर हामी बाहिर ध्यान मोड्दैनौं । बजारमा कसले के भनिरहेका छन्, हामीले माइन्ड त्यता मोड्न हुँदैन ।’
आजै इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश जबराले रोक्नुभएको थियो ।