काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्टको खोल भिरेका प्रतिगमनकारी भएको टिप्पणी गर्नुभएको छ । नेकपा दाहाल नेपाल समूहले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्री ओलीले कम्युनिस्टका नाममा कलंक र राष्ट्रवादका नाममा राष्ट्रघात गरेको बताउनुभयो ।
संविधानमै नभएको व्यवस्थाबाट प्रतिनिधिसभा भंग गरेर लोकतन्त्र र संविधानलाई समेत घात गरेको नेता ज्ञवालीको दाबी छ । नेता ज्ञवालीले सिंगो कम्युनिस्ट पाटी र संविधान धराशायी बनाउने ओली कहिल्यै नेकपामा नरहने बताउनुभयो । नेता ज्ञवालीले जबजको मन्त्र जपेको नाटक गर्ने ओली नै प्रचण्डसँगको सम्झौतामा प्रधानमन्त्री बन्न जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति भएको दाबी गर्नुभयो ।
केपी ओलीको प्रतिगमनविरुद्ध सडक, सदन र सरकारबाट आन्दोलन गर्नुपर्ने भएकाले प्रदेश सरकारबाट आफूहरु नहटेको बताउनुभयो ।
अर्का नेता ठाकुर गैरेले दलभित्र कसैको दास बन्न नसकेका कारण आन्दोलनमा होमिनु परेको बताउनुभयो । उहाँले देश, संविधान र दलको सिद्धान्तविपरीत कदम चाल्नेहरुविरुद्ध प्रतिकार गर्न जो सुकै तयार हुनुपर्ने बताउनुभयो ।