काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको बताउनुभयो ।
आफूहरुको पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने नै रहेको बताउनुभयो । त्यसैगरी उहाँले पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली सङ्कलन अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको बताउनुभयो ।
‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशीलको नामावली अझै आउन सकेको छैन’, उहाँले भन्नुभयो, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।’ मातृशोकमा रहनुभएका काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री कोइरालासहितका केन्द्रीय नेताहरुको टोली हिजो साँझ कञ्चनपुर पुगेको थियो ।