काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले वैधानिकता पाएको छ । आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ताको प्रमाणपत्र दिएको जसपाका नेता केशव झाले जानकारी दिनुभयो । झाका अनुसार जसपाको दर्ता नम्बर १५९ छ ।
वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएको थियो । जसपाले जेठ २५ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । आयोगमा बुझाएको नामअनुसार महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहेका छन् भने ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ।
पार्टी एकीकरण घोषणा भए पनि आयोगले प्रमाणपत्र नदिइसकेकाले हाल राजपा र समाजवादीको संसदीय दल भने अलग–अलग नै छ । जसपा आयोगमा दर्ता भएसँगै संसदीय दल पनि अब एउटै हुनेछ । आयोगले संसदमा रहेका दुई दल एक भएको प्रमाणपत्र पाइसकेकाले सोबारे आयोगले राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।
निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशित गरेपछि संसदीय दललाई पत्र पठाउने झाले जानकारी दिनुभएको छ ।