काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन बर्ष सम्म प्रधानमन्त्री केपी ओलीलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गर्नुभएको छ ।
प्रधानमन्त्री पाउनको लागि सहमति जे पनि गरिदिने तर सत्ता पाएपछि केही पनि नगर्ने लक्षण धेरै देखिएको भन्दै त्यसलाई रोक्न खोजेपनि तीन बर्षमा ओलीलाई तह लगाउन नसकेको बताउनुभयो ।
‘केपी ओलीलाई तह लगाउन सकिने रहेनछ, शुरु बाटै केपी ओलीविरुद्ध दृढतापूर्ण संघर्ष गर्न पर्ने रहेछ, तर हामीले गरेनौ त्यसैले आत्मालोचना गर्न चाहान्छु’ उहाँले भन्नुभयो, ‘ओलीले पार्टीको विधान, संविधान नमान्ने मात्र होइन सिंगो गणतन्त्र नै मान्न तयार छैनन् ।’
उहाँले थप्नुभयो, अब देखि हामी ओली प्रवृति प्रति उदार भएर भित्रभित्रै संघर्ष गर्ने र उनको लागि काम गर्न उनको प्रवृतिलाई अघि बढ्न दिने भुल हामी अब गर्ने छैनौ, म प्रतिबद्धता र संकल्प गर्न चाहान्छु ।
शुरुदेखि दायाँबायाँ गर्न नदिएको भए ओलीलाई तह लगाउन सकिन्थ्यो कि भन्दै उहाँले भन्नुभयो, ‘हाम्रो उदारतालाई कमजोरी ठानेर ओलीले जुन दुस्साहत गर्न खोजेका छन्, हामी अन्तत तपाईहरु सामू आउन बाध्य भएका छौँ ।’
स्थायी समितिमा संघर्ष गरेपनि ओलीको विधान नमान्ने, पार्टी निर्णय नमान्ने कुरालाई सच्चाउन नसकेको भन्दै उहाँले आफुहरुले पनि पनि समिक्षा गर्नपर्ने भएको बताउनुभयो । आफुहरु राष्ट्रप्रति इमान्दार रहेको बताउँदै उहाँले अब गलत सम्झौता गर्न भन्दा प्रतिगमन विरुद्ध जनतामा जाने निर्णय गरि जनतासामू गुहार माग्न आएको बताउनुभयो ।
‘तपाईको अपार मायाले के सावित गर्याे भने नेपाली जनताको प्रतिगमन विरुद्धको विद्रोही भावना घटेको छैन । जनता ६२÷६३ मा जस्तै गलत प्रवृति विरुद्ध दृढ छन भन्ने पुष्टि भएको छ ।’ उहाँले भन्नुभयो, ‘ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन मात्र नभएर संविधान, गणतन्त्र र शान्तिप्रक्रिया पनि विघटन गर्न खोजेका छन् । खबरदार, शान्तिप्रक्रिया गणतन्त्र, संविधान सभा विघटन गर्न खोज्नेलाई नेपाली जनताले छाड्ने छैनन् ।’