काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात रहेको बताउनुभएको छ ।
आफ्नो समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले संसद विघटन राजतन्त्र पुनःस्थापित गर्ने षडयन्त्रको सुरुवात रहेकोले यसलाई हर मूल्यमा रोक्न आवश्यक रहेको बताउनुभयो ।
प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्हाएको टिप्पणी पनि गर्नुभयो ।
नेपालमा राजावादीहरु सलबलाउन थालेको र गणतन्त्र खतरामा परेको कुरा प्रचण्डबाट व्यक्त भएको यो पहिलो पटक भने होइन । यसअघि पनि प्रचण्डले गणतन्त्रविरुद्ध उत्रन खोजे राजावादीहरुलाई खरानी पार्नेसम्मको चेतावनी दिँदै आउनुभएको थियो ।
यति सम्मकी एक सामान्य नागरिक सरहको जीवनयापन गरिरहेका पूर्वराजा ज्ञानेन्द्र होटल गएको प्रसंगमा पनि आपत्ति जनाउँदै प्रचण्डले ‘अहिले उनीहरु नाच्दै हिँडेका छन् रे होटल–होटलमा के का लागि नाचेका हुन?’ भन्दै आपत्तिजनक ढंगले सार्वजनिक प्रश्न समेत गर्नुभएको थियो ।
आज त आफैले प्रस्ताव गरेको प्रधानमन्त्रीले नै संसद विघटन गरेर राजतन्त्र पुनःस्थापनाको प्रक्रियाको सुरुवात गरेको प्रचण्डले बताउनुभयो ।
तर राजावादीहरु भने प्रचण्डको अभिव्यक्तिलाई नेकपाको आन्तरिक झगडाको उपज बाहेक अरु ठान्दैनन् । राजसंस्थाको पक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रचण्डको अभिव्यक्तिलाई नेकपाको घरझगडाको उपजका रुपमा बुझ्नुपर्ने बताउनुभयो ।
उहाँले नेकपाको शासनबाट आजित भएका जनताले विकल्प खोजिरहँदा प्रचण्ड र ओलीहरुलाई मनको बाघले खाइरहेको बताउनुभयो ।
१० वर्षको जनयुद्ध र त्यसकै जगमा चलेको ६२÷६३ को जनआन्दोलनमार्फत नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । तर गणतन्त्रका शाशकहरुको मनबाट अहिले पनि राजतन्त्रको डर हटिनसकेको उनीहरुका अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।
विकासको नाममा सिन्को नभाच्ने वर्तमान शाशकहरुबाट आजित भएका जनताले ‘राजा आउ देश बचाउ’को नारा घन्काइरहेका बेला आफूलाई गणतन्त्रका नायक ठान्ने नेताहरु राजावादीलाई खरानी पार्ने चेतावनी दिन व्यस्त छन् ।
तर जनताको विकासको चाहना अहिलेका शाशकहरुले पूरा गर्दै गए राजावादीहरुले गणतन्त्रको जग हल्लाउन सक्लान् र ? आन्तरिक झगडालाई राजतन्त्र पुनःस्थापनासँग जोडिरहेका नेकपाका नेताहरुले जवाफ दिनुपर्छ ।