काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता आनन्द प्रसाद ढुङ्गानाले सर्वोच्च अदालतले जे फैसला गरे पनि निर्वाचन आयोगको काम भनेको चुनावको तयारीमा बस्नु रहेको बताउनुभएको छ ।
ढुङ्गानाले आयोगले निर्वाचनको तयारीका लागी छलफल गर्न मात्रै आफूहरुलाई आइतबार बोलाएको दावी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता ढुङ्गानाले भन्नुभयो“नेपाली काँग्रेस सर्वोच्च अदालतको निर्णयको पक्षमा मात्रै उभिन्छ, प्रधानमन्त्रीको कदम गलत भएको हामीले बारम्बार भन्दै आएका छौँ, हामी निर्वाचन गर्नुपर्छ भनेर आयोग गएका होइनौँ, आयोगलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो, आयोग सधैँ तयारी अबस्थामै रहनुपर्छ, आयोगलाई राजनीतिक पार्टीको सहयोग महत्वपूर्ण हुन्छ ।”
नेता ढुङ्गानाले सर्वोच्च अदालतबाट जस्तो फैसला आए पनि आयोगले आफ्नो काम कर्तव्यबाट भाग्न नहुने जिकिर गर्नुभयो । अहिलेको सरकारले जनताको हितमा काम नगरेको उहाँले आरोप लगाउनुभयो ।
सरकारले जनताको हितमा कुनै काम नगरेको आरोप लगाउदै अब सर्वोच्चको निर्णय अनुसार नै अगाडी बढ्ने काँग्रेसका प्रभावशाली नेता ढुङ्गानाले बताउनुभएको छ ।