काठमाडौं । सरकारले आयात निर्यात कारोबारका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जबाटै लक्ष्यअनुसार राजस्व उठाउन सकेन । वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो ६ महीनामा तोकिएको लक्ष्य भेट्टाउन असफल भएको हो ।
यो भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन गरेको छ । भन्सार अधिकृत रमेश सुकमनीका अनुसार ६ महीनामा ७३ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ राजस्व उठेको छ ।
वीरगञ्ज भन्सारलाई यो अवधिका लागि ८५ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । यो राजस्व लक्ष्य गत आर्थिक वर्ष २०७६÷७७ को समीक्षा अवधिको तुलनामा १२ अर्ब रुपैयाँ कम हो ।
कोरोना महामारीका कारण आयात, आवागमन, उत्पादन र आपूर्तिमा परेको असरका कारण भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको अधिकृत सुकमनीले बताउनुभएको छ ।