काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता खगराज अधिकारीले प्रधानमन्त्रीको खुट्टा तान्नु स्वभाविक भएकोे बताउनु भएको छ । फलेको रुखमा नै झटारो हान्ने प्रबृत्ति हुने भएकाले प्रधानमन्त्रीप्रति सवैले आक्रमण गर्नु स्वभाविक भएको उहाँले बताउनु भएको हो ।
अधिकारीले प्रधानमन्त्रीको अपब्याख्या गरेर समय बर्बाद पार्न नहुने टिप्पणी गर्नुभयो ।
परम्परागत विधानका आधारमा निर्वाचन आयोगले ओली पक्षलाई नै आधिकारिकता दिनु पर्ने अधिकारीले दाबी गर्नुभयो । अधिकारीले निर्वाचन आयोगमा भएका कागजातका आधारमा बैधानीकता हेर्दा पार्टी फुट्न नमिल्ने जिकिर गर्नु भयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता अधिकारीले भन्नुभयो “विधान निर्बाचन आयोगले बनाउने होइन, पार्टीको विधान अनुसार निणर्य गर्ने हो, आधिकारिक नेकपा भनेको हाम्रो मात्रै हो, नेकपा एमाले हामीले बनाएका हौँ ।
हामीले पार्टी चिन्ह्न नपाए त झन प्रचण्ड–नेपाल समूहले कसरी पाउँछ ?” उहाँले अर्को पक्षका अध्यक्षद्धय पुष्पमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल त्यति धेरै तल गिर्नुहुन्छ भन्ने आफुलाई नलागेको टिप्पणी पनि गर्नुभयो ।
अधिकारीले सर्वाेच्च अदालत बहसमा नै केन्द्रित भए निर्वाचन जसरी पनि गराउने बताउनु भयो । काँग्रेसले पनि रणनीति बनाएर गाउँ गाउँमा गइसकेकाले निर्बाचन समयमै हुने अधिकारीले दावी गर्नुभयो ।
उहाँले भन्नु भयो “भिम रावल निकै अगाडिदेखि नै पार्टीलाई विभाजन गर्ने काम गर्दै आउनु भएको सबैलाई थाहा छ, उहाँको कुरा विश्वास गर्ने वा नगर्ने जनताकै हातमा छ, यस अगाडि उहाँ मन्त्री हुदा उहाँले चाहिँ नेपाल भारतको सिमा विवाद समाधान गर्न किन नसकेको ? अहिले आएर उहाँले विभिन्न आरोप लगाउदै हिड्न सुहाउछ ?”
नेता अधिकारीले राष्ट्रको प्रतिनिधित्व गर्ने बेला नेपालका केहि नेताले भारतको पक्ष लिएको आरोप लगाउनु भयो ।