काठमाडौं । शहरी विकासमन्त्री समेत रहेका ओली पक्षीय नेकपाका नेता प्रभु साहले ललिता निवास बालुवाटारको जग्गा व्यक्तिलाई दिलाउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको हात रहेको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्रीय शासन प्रणालीमा मन्त्रिपरिषद्बाट भएका निर्णयको मुख्य दोषी प्रधानमन्त्री नै हुने भएकाले अरुलाई मात्र दोषी बनाएर अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको साहले बताउनुभयो । ओली पक्षधर नेकपा प्रदेश १ सम्पर्क कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साह प्रचण्ड र माधव नेपालमाथि खनिनुभएको हो ।
साहले तराई–मधेश क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरुचाइएको भनिए पनि त्यो गलत भएको दावी गर्नुभयो । साहले ओलीको तराई–मधेशमा जयजयकार भएको बताउनुभयो । उहाँले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानसहितको संघीयताको कुरा गरे पनि धोका मात्रै दिएको बताउनुभयो ।