काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा आज नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक हुन लागेको छ ।
बैठकमा सीमा, दुई पक्षीय हित, सहकार्य, कोरोनाविरुद्धको खोपलगायतका विषयमा छलफल हुने कार्यसूची बनाइएको छ ।
बहुप्रतिक्षीत सीमा विवादको विषयलाइ भने निर्णायक अवस्थामा पुर्याउने संभावना कम रहेको देखिएको छ । भारतले गत वर्ष कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण छ ।
तनावकै बीच नेपालले पनि सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाई लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गरेको थियो । उक्त नक्सालाई भारतले अस्वीकार गर्दै आएको छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नुहुने छ । बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली सहितको टोली हिजो नै भारत गएको छ ।