काठमाडौं । नेकपाको दाहाल नेपाल समूहको स्थायी कमिटिको बैठक आज पनि बस्न लागेको छ । नेकपाको कार्यालय पेरिस डाँडामा विहान ११ बजेपछि बैठक बस्ने तय भएको नेताहरुले जानकारी दिएका छन् ।
हिजोदेखि सुरु भएको बैठकले आन्दोलनका नयाँ कार्यक्रमहरु तय गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । बैठकमा अहिलेसम्म भइरहेका आन्दोलनका समिक्षा गर्दै नयाँ कार्यक्रमहरु बारे विचार विमर्श भइरहेको उहाँले बताउनुभयो ।
नेकपाको दुवै पक्षले पार्टीका नेता तथा कार्यकर्ता आफ्नो पक्षमा तान्नका लागि विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आइरहेका छन् । दुवै पक्षका कार्यक्रम एक अर्कालाई गाली गलौजमा केन्द्रीत हुने गरेका छन् ।
दाहाल नेपाल पक्षले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले संसद पुनस्र्थापना हुनु पर्ने माग राखेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सरकारले निर्वाचन घोषणा गरेकाले निर्वाचनमा जानु पर्ने अडान राखेको छ ।
आगामी बैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन हुने संभावना कम भएपनि ओली पक्षले निर्वाचनको पक्षमा भन्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।