काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताउनुभएको छ । नेकपाको प्रचण्ड–नेपाल पक्षको काठमाडौँ जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाउनुभएको हो ।
ओलीले यसअघि भारतले आफ्नो सरकार गिराउन खोजेको आरोप लगाएको स्मरण गर्दै अहिले भारतको सल्लाहमा उहाँले संसद् विघटन गरेको आरोप लगाउनुभयो ।
त्यसैका परिणामहरु अहिले बाहिर आएको बताउँदै प्रचण्डले ओलीले हालै जीन्यूजसँग गरेको अन्तर्वार्ता पनि नाटक भएको बताउनुभयो ।
‘अब जी न्यूजले सगरमाथाको नाम फेर्नेसमेत बताइसकेको छ । यसले सबै विषय स्पष्ट गरेको छ’, उहाँले भन्नुभयो ।