काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आलेले सुदूरपश्चिममा एक सिट जितेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती दिनु भएको छ ।
त्रिलोचन भट्ट मुख्यमन्त्री बन्नुमा मुख्य हात आफ्नो भएको वन मन्त्री आलेले दावी गर्नुभयो । छ प्रदेश मध्ये नेकपाको सबै भन्दा कमजोर नेता त्रिलोचन भट्ट भएको मन्त्री आलेले आरोप लगाउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा मन्त्री आलेले भन्नुभयो “आम जनता निर्बाचनमा गइसकेका छन, त्यसैले तोकिएकै समयमा चुनाव हुन्छ, प्रधानमन्त्रीसंग ६४ प्रतिशत मत भएकाले ३६ प्रतिशत मतले संसद पुनर्स्थापना हुन सक्दैन ।”
मन्त्री आलेले हिम्मत हुनेले जनताको विचमा गएर नयाँ सरकार बनाउन चुनौती समेत दिनुभयो । प्रधामन्त्रीलाई संविधानले स्पष्ट रुपमा नै प्रतिनिधि सभा विघटनको अधिकार दिएको आलेको दावी छ ।
मन्त्री आलेले दाहाल–नेपाल समूहका नेता भिम रावललाई विकास विरोधीको संज्ञा दिनुभयो । सुदुर पश्चिममबाटै उठेर विकासका नाममा केहि काम नगरेको आरोप लगाउदै आफ्नो कार्यकाल ३ महिना भएपनि रावलको भन्दा राम्रो काम गरेर देखाउने दाबी उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो “जसरी म अहिले शिर ठाडो बनाएर मन्त्रालयमा आएको छु, त्यस्तै ठाडो शिर बनाएर यो मन्त्रालयबाट बिदा लिन्छु, प्रधानमन्त्रीको शिर झुकाउने कदम कहिले पनि चाल्ने छैन ।”
मन्त्री आलेले आफूलाई लगाएको सबै आरोप झुटो भएको र त्यसमा कुनै तथ्य नभएको दावी गर्नुभयो । नेता रावलको पक्षमा २५ बर्ष लाग्दा आफूलाई राम्रो भनेको तर अहिले साथ नदिदा झुटो आरोप लगाइएको उहाँको भनाई छ ।
रावल रक्षा मन्त्री हुदा बिस्कुट खरिदमा कमिसन खाको आरोप लगाउदै पद प्राप्त नभएकाले रावलले खोक्रो राष्ट्रबादको ब्यबहार देखाउने गरेको आलेले टिप्पणी गर्नुभयो । सुदुरपश्चिम क्षेत्रमा भएको विकासको श्रेय प्रधानमन्त्रीलाई जाने उहाँले बताउनुभयो ।