काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले चुनाब जितेर प्रधानमन्त्री हुन्छु भन्ने काँग्रेस सभापति शेरबहादुर देउवाको सपना पूरा नहुने दावी गर्नु भएको छ । पाण्डेले काँग्रेस अहिले दोधारमा भएकाले छिट्टै दोधार मुक्त हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता पाण्डेले भन्नुभयो “प्रतिनिधि सभा विघटनको विषय अहिले सर्वाेच्च अदालतमा सुनुवाई जारि छ, यो अवस्थामा निर्वाचन आयोगले निर्बाचनको तयारी गरेकोले तयारी रोक्न हामीहरु आयोग गएका हौँ, निर्बाचन आयोगले प्रारम्भीक काम मात्रै गरेको बताएको छ, हामीले आफ्नो तर्फबाट काम गरेका छौं अब बाँकी निर्वाचन आयोगको हातमा छ।”
नेता पाण्डेले आफ्नो पक्षमा बहुमत भएकोले पार्टीको बैधानिकताको मान्यता आफ्नो पक्षले पाउने दाबी समेत गर्नुभयो । केन्द्रिय समिति विस्तार गर्न बहुमत चाहिने भन्दै प्रधानमन्त्री ओलीको पार्टीमा बहुमत नभएकोले विधान संशोधन गर्न नपाईने जिकिर उहाँले गर्नु भयो ।
आफैले बनाएको विधानमा प्रधामन्त्रीले मनलागी गरेको नेता पाण्डेको आरोप छ । पाण्डेले नेकपा टुक्रिनुको मुख्य कारण नै प्रधानमन्त्री ओली भएको बताउनु भयो ।
नेता पाण्डेले प्रतिनिधि सभा विघटन हुन संविधान विघटन तर्फको खेल भएको र नेपाललाई असफल बनाउने षड्यन्त्र भएको आरोप लगाउनु भयो ।
अझै पनि संसद पुनस्थापना हुने आधार भएको दाहाल–नेपाल समूहका नेता पाण्डेले जिकिर गर्नु भयो ।