काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघियता विरोधी भएको सन्देश दिन आज धेरै ठाउँमा बयलगाढा प्रदर्शन गर्न लागिएको छ ।
नेकपाको प्रचण्ड माधव समूह निकट अनेरास्ववियूले देशभरका धेरै ठाउँमा बयलगाढा प्रदर्शन गर्दै विरोध जनाउने कार्यक्रम रहेको जनाएको छ ।
गणतन्त्र र संघियतालाई धरापमा पार्नेगरी प्रधानमन्त्री ओलीले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेकाले ओली विरुद्ध प्रदर्शन गर्न लागिएको उनीहरुको भनाई छ ।
बयलगाढा चढेर अमेरिका पुग्न नसकिए झैँ २०६२, ६३ मा भएको आन्दोलनले गणतन्त्र र संघियता ल्याउन नसक्ने टिप्पणी उहाँले त्यतिबेला गर्नु भएको थियो । उहाँको त्यो टिप्पणीले उहाँ त्यतिबेला आन्दोलनको विपक्षमा रहेकाले गणतन्त्र र संघियताका लागि ओलीको योगदान नरहेको सन्देश दिन पनि बयलगाढा प्रदर्शन गर्न लागिएको अनेरास्ववियुले जनाएको छ ।
नेकपा निकट विद्यार्थीहरुले काठमाडौमा भने दिउसो २ बजे बयलगाढा प्रदर्शन गर्ने तय गरेका छन् । काठमाडौको माइतीघर मण्डलामा कार्यक्रम हुने एक नेताले जानकारी दिएका छन् ।
त्यसैगरी भक्तपुरमा भने अपरान्ह ४ बजे बयलगाढा प्रदर्शन गरिने भएको छ । विरोध कार्यक्रम सानोठिमी, भक्तपुरमा हुने भएको हो ।
यसअघि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओली उल्टो बाटोमा लागेको सन्देश दिन उल्टो हिड्ने र्याली निकालेको थियो ।