काठमाडौँ – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरेका छन्।
संसद विघटनको विरोधमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। उनले ओलीले अदालतलाई प्रभावित गर्ने काम गरिरहको बताए।
थापाले भने, ‘संसदको सामना नगर्ने, अनि अदालतलाई प्रभावित गर्न मसँग ६४ प्रतिशत मत भएकाले अर्को संसदबाट सरकार बन्दै सक्दैनथ्यो । त्यसैले संसद भंग गरेँ भन्ने? प्रधाननमन्त्री क्रान्तिकारी होइन, संसद छोडर भागेको भगौडा हो ।’
संसदमा सामना गर्न नसकेर भगौडा जस्तो भागेका प्रधानमन्त्रीले फूर्ती भने युद्ध जितेर आएको भएको उनले टिप्पणी गरे ।
उनले अघि भने, ‘दशरथ रंगशालाको बक्सिङ रिङमा बक्सिङ खेल्न तयार भएर बसेका छौं । प्रधानमन्त्री ओली बक्सिङ खेल्न आउनुहोला भनेको त त्रिपुरेश्वरबाट भाग्नुभयो । महाबौद्धमा गएर आफै गोल्डमेडल किन्नु भएछ । त्यही लगाएर आएर बक्सिङ जितेर आएको भन्नुहुन्छ । खेल्नु त भएन भन्दा आएको भए ढालिदिन्थेँ भन्नुहुन्छ ।’
आउनुस्, संविधान पढौं
संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई प्रधानमन्त्रीले संविधान पढ्न आग्रह गरेको प्रसंगमा थापाले ओलीलाई खुलामञ्चमा संविधान पढ्न आउन चुनौती दिए।
उनले अघि भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौँ। तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौँ, खुलामञ्चमा जनताको बीचमा संविधान पढौँ।’
उनले संसद विघटन असंवैधानिक मात्र होइन, गैर जिम्मेवार कदम भएको बताए।