काठमाडौं । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आज पहिलोपटक राजधानी बाहिरको कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।
नेकपा ओली समूहले कैलालीको धनगढीमा आयोजना गरेको आमसभामा सहभागी हुन ओली केहीबेरअघि धनगढी पुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले धनगढीको खुलामञ्चमा आज दिउँसो आयोजना हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको आगमनका कारण धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । ओलीको धनगढी यात्राका क्रममा तनाव हुनसक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यद्यपि, प्रधानमन्त्री ओली धनगढी नपुग्दै नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले उहाँविरुद्ध धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले आज बिहान टायर बालेका हुन् । प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको बताइएको छ ।
सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट भने प्रधानमनत्रीलाई स्वागत गर्न विमानस्थल जानुभएन । उहाँ प्रचण्ड–माधव भएकाले नजानुभएको हो ।