काठमाडौं । संसद् विघटन खारेज गर्न माग गर्दै विवेकशील पार्टीले काठमाडौँमा ऐना देखाएर प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले माइतीघरमा ऐना देखाएर प्रदर्शन गरेको हो ।
प्रदर्शनका सहभागीहरुले असंवैधानिक संसद् विघटन खारेज गर लेखिएको ब्यानर बोकेका थिए ।
साथै, उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्रीज्यू’ लेखिएको घडी पनि प्रदर्शन गरेका थिए । ओली सरकार अधिनायकवादको बाटोमा हिँडेको उनीहरुको भनाइ थियो ।
विवाद र झैझगडा गरेर देशलाई अन्यौलमा राखिरहेका नेताले एकपटक आ–आफ्नो अनुहार र व्यवहार ऐनामा हेरुन् भन्ने मनसायका साथ आफूहरुले ऐना देखाएर प्रदर्शन गरेको पार्टीका संयोजक शशिविक्रम कार्कीले बताउनुभयो ।