काठमाडौं । खानेपानी मन्त्री मणी थापाले पार्र्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न र पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली इमानदार देखिएको बताउनु भएको छ ।
पूर्व माओवादी भएपनि अहिले नेकपाको ओली पक्षका नेता थापाले प्रधानमन्त्री ओलीमा केही कमजोरी भएपनि देशको स्थायीत्व र देश निर्माणमा उहाँ प्रतिबद्ध रहेको दावी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उहाँले पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै पनि अराजकताबादी धारमा रहेको आरोप लगाउनु भयो । प्रचण्डले आफूहरुको सुझाव नमाने पछि आफू बाध्य भएर ओली तिर लागेको उहाँको भनाई छ ।
लामो समय प्रचण्डको नजिक रहेर काम गर्नु भएका मन्त्री थापाले प्रचण्डलाई अस्थिर ब्यक्तिको संज्ञा पनि दिनुभयो । प्रचण्डसँगै डा. बाबुराम भट्टराई, मोहन बैद्यलगायतको सहयोगबाट मात्रै उहाँले विचार बनाउने गरेको बताउदै थापाले उहाँहरु साथमा नभएकाले अहिले प्रचण्डको निर्णय क्षमता कमजोर भएको टिप्पणी गर्नुभयो ।
चुनाव नै दल र नेताहरुको लोकप्रियता जाँच्ने माध्यम भएकाले लोकप्रिय दल र नेता चुनावमा जान कहिल्यै नडराउने तर्क गर्नुभयो । उहाँले आगामी बैशाखमा नै निर्वाचन हुने दावी गर्दै प्रधानमन्त्री ओली नेतृत्वको दलले निर्वाचनका लागि आन्तरिक तयारी गरिरहेको पनि बताउनुभयो ।
मेलम्चीको खानेपानी राष्ट्रिय सपना भएकाले त्यो सपना पूरा गर्न आफू लागी परेको खानेपानी मन्त्री थापाको भनाई छ ।