काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताउनुभएको छ । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उहाँको तर्क छ ।
आजको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै गौतमले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो गर्नुभयो । यसअघि प्रधानमन्त्रीको आलोचना गर्ने गुटमा बसेर आफूले अविश्वासको प्रस्ताव असफल पारेको स्मरण गर्दै उहाँले यसपटक अविश्वासको प्रस्ताव लैजाँदा आफुलाई थाहा नभएको उहाँको भनाइ छ ।
आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उहाँले प्रतिनिधिसभा भंग गर्दा आफूलाई नसोधिएको गुनासो गनुभयो । पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले संसद भंग गरेको उहाँको भनाइ छ । यस्तै उहाँले नेकपामा विभाजन रहेको र त्यसबाट आफू दुखी रहेको पनि बताउनुभएको छ ।
त्यस्तै, उहाँले अहिले नेकपाभित्रको विभाजनमा आफू कुनै समूहमा नभएको पनि स्पष्ट पार्नुभयो । पार्टी एकता तीन वर्षमै विभाजन गर्नु थियो भने एकता किन गर्नुपर्थ्यो ? भन्दै उहाँले प्रश्न पनि गर्नुभयो ।