काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको घटनाले अहिले नेपालको राजनीति हलचल छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा एकता प्रक्रिया पूरा नहुँदै चिरा परेको छ । सरकार काम चलाउको अवस्थामा रहेको स्वयं ओली मन्त्रिपरिषद्का सदस्यहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहेका छन् । यो बेला नेकपाको आधिकारिकता प्राप्त गर्न दुई समूहबीच लडाई भइरहेको छ ।
पार्टीको आधिकारिकता प्राप्त गर्न सरकारमा रहेको ओली समूह रक्षात्मक र सडक संघर्षमा रहेको प्रचण्ड–माधव समूह आक्रामक बनेको छ । झण्डै दुई तिहाई बहुमत प्राप्त गरेर पाँच वर्ष सरकार चलाउने जनादेश प्राप्त गरेको नेकपाको आन्तरिक किचलाले प्रतिनिधिसभा विघटन भएको घटनालाई प्रमुख विपक्षी नेपाली कांग्रेससहितका दलहरु रमिता मानेर हेरिरहेका छन् ।
यो बीचमा नेकपाको दुवै समूहमा नेता तथा सांसदहरु तानातानको प्रयास भइरहेको छ । रोचक कुरा त के छ भने प्रचण्ड समूह परित्याग गरि ओली समूहमा छिरेका पार्टीको पूर्व माओवादी खेमाका केही नेताहरु अध्यक्ष प्रचण्डप्रति आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।
प्रचण्डप्रति कटाक्षको वर्षा प्रधानमन्त्री ओलीले गरिरहनुभएको छ भने ओलीको भाषणलाई समेत मात दिने गरी पूर्व माओवादी नेताहरु प्रचण्डको विरोधमा उत्रेका छन् । झण्डै ४० वर्षदेखि प्रचण्डको राजनीतिक सारथी भएर काम गर्नुभएका नेता लेखराज भट्ट अहिले ओली समूहमा लाग्दै प्रचण्डको तिखो आलोचना गरिरहनुभएको छ ।
प्रचण्ड–माधव समूह छाडेर ओली कित्तामा लाग्दै प्रचण्डको तिखो आलोचना गर्ने अर्का पूर्व माओवादी नेता हुन् टोपबहादुर रायमाझी । हाल ओली सरकारको उर्जा मन्त्री बनेका रायमाझी प्रचण्डकै कारण पार्टी विभाजन भएको दाबी गर्नुहुन्छ । उहाँ प्रचण्ड–माधव समूहले ओली सरकारलाई कामै गर्न नदिएपछि संसद विघटनको निर्णय लिन प्रधानमन्त्री बाध्य भएको बताइरहनुभएको छ ।
लामो समयको मौनता तोड्दै ओली समूहमा लागेर कित्ता क्लियर गर्नुभएका अर्का पूर्व माओवादी खेमाका नेता गृहमन्त्री रामबहादुर थापा बादल पनि प्रचण्डको खरो आलोचनामा उत्रनु भएको छ ।
उहाँले प्रचण्डलाई फुटवादीको संज्ञा दिँदै प्रतिनिधिसभा विघटनको पक्षमा आफूलाई उभ्याउनुभएको छ । प्रधानमन्त्रीको यो निर्णयलाई उहाँले साहसिक कदम पनि भन्नुभएको छ । प्रचण्ड–नेपाल समूहले पार्टी फुटाएर सरकार अपदस्थ गर्ने शपथ ग्रहण नै गरेको दाबी बादलको छ ।
ओलीको प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलन गर्न बिहान सडकमा पुगेका केही नेताहरुले बेलुकी मन्त्रीको शपथ खाएको समाचारहरु पनि बाहिरएका छन् । पार्टी विभाजनको स्थितिमा पुग्दा लामो समयदेखिका सहयात्रीहरुले साथ छाडेपछि प्रचण्डमा तनाव श्रृजना हुनु पनि स्वभाविकै हो । तर उपयोग गर्ने र किनारा लगाउने प्रचण्डको स्वभावका कारण उहाँसँग नेताहरु टाढिएको आरोप पनि लाग्ने गर्छ ।
यो आरोपलाई भने प्रचण्ड स्वीकार गर्न तयार हुनुहुन्न । एक टेलिभिजन अन्तर्वार्तामा उहाँले बरु नेताहरुबाट आफूलाई धोका भएको दुखेसो गर्नुभएको छ ।
हुन त पूर्व माओवादी खेमाका नेताहरु ओली समूहमा लागेका बेला पार्टीको पूर्व एमाले खेमाका दुई वरिष्ठ नेतासहित थुप्रै नेताहरु अहिले प्रचण्ड–माधव समूहमा छन् ।
दुवै समूहले आफ्नो समूहलाई बलियो पार्न नेताहरु तानातान गरिरहेका बेला संसद पुर्नस्थापनाको विषय अदालतमा छ । विपक्षी कांग्रेस संसद पुर्नस्थापना भए पनि नभए पनि नेकपाको फुटले आफूलाई राजनीतिक फाइदा हुने भन्दै प्रसन्न बनेको छ । कांग्रेससहितका विपक्षी पार्टीहरु झण्डै दुई तिहाई बहुमत पाएको नेकपाको अहिलेको रमिता हेरेर आनन्द लिइरहेका छन् ।