काठमाडौं । चितवनमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूह नेकपाका छुट्टाछुट्टै भेला आयोजना भइरहेको छ । दुई समूहले छुट्टाछुट्टै जिल्ला कार्यकर्ता भेला गरेका हुन् ।
भेलालाई सम्बोधन गर्न काठमाडौंबाट केन्द्रीय नेताहरू चितवन गएका छन् । ओली समूहको भेलालाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा बादल पनि चितवन गएका छन् । चितवन उनको गृहजिल्ला पनि हो ।
उनी चितवनमा आएपछि प्रचण्ड–नेपाल समूहले उनको विरोध गरेको छ । विरोधस्वरुप कालो बेलुन उडाएको छ ।
‘बादल लाल गद्दार असंवैधानिक ‘कू’को मतियार’, लेखिएको ब्यानर सहितको कालो बेलुन उनीहरुले उडाएका हुन् ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै सत्तारुढ नेकपा दुई समूहमा बाँडिएको छ । केही समयको अन्यौलताबीच गृहमन्त्री थापा ओली पक्षमा गएका छन् ।
ओली समूहमा गएपछि उनले प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिन थालेका छन् ।