काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताउनुभएको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
‘केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुनअनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको छ’, पूर्वकानुनमन्त्रीसमेत रहनुभएकी उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको छ ।’
प्रतिनिधिसभा विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउँदै उहाँले कामचलाउ बनेको सरकारको काम कारवाही सहज रुपमा अघि बढाउन प्रधानमन्त्रीले मन्त्रीमण्डल बिस्तार गरेको बताउनुभयो ।
संसद् विघटन संविधानमा स्पष्ट रुपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको निर्णय गरेको मन्त्री तुम्वाहाङ्फेको भनाइ छ ।
‘यो विधिसम्मत छ । तोकिएको मितिमा चुनाव गराउन सरकार लागिपरेको छ’, उहाँले दाबी गर्नुभयो ।