एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन र पर्याप्त मत खोज्न भनेकोे फोन कलको रेकर्ड सार्वजनिक भएको छ । रेकर्ड वाशिङ्टन पोस्टले आज सार्वजनिक गरेको हो ।
रेकर्डमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, ‘म मात्र ११,७८० भोट खोज्न चाहन्छु ।’
रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा दिएका छन् । जसमा जोर्जियाको नतिजा सही भएको बताइरहेको सुन्न सकिन्छ ।
फोन रेकर्डको एक अंशमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेटलाई वैकल्पिक रूपमा दबाब दिइरहेको र फुस्ल्याइरहेको सुन्न सकिन्छ ।
‘तपाईँले पुनः गणना गरेको भन्नुमा केही पनि गलत हुने छैन’, उनले जोर्जियामा चुनाव जितेकोमा जोड दिँदै रफेन्सपोगरलाई भनेका थिए ।
‘तपाईँको चुनौती भनेको के हो भने राष्ट्रपतिज्यू तपाईँसँग भएको तथ्याङ्ग गलत छ’, रफेन्सपोगरले प्रतिउत्तर दिँदै भनेका छन् ।
उक्त कलमा पछि ट्रम्पले फुल्टोन काउन्टीमा मतपत्र च्यातिएको र त्यहाँबाट चुनावी मेसिनरी हटाइएको हल्ला चलेको बताएका थिए । तर, त्यसलाई त्यहाँको जिम्मेवारी पाएका रफेन्सगोपरका वकिलले त्यस्तो नभएको बताएका थिए ।
त्यसपछि राष्ट्रपतिले अधिकारीलाई सम्भावित कानुनी परिणामको धम्की दिएका थिए ।
‘तपाईँलाई थाहा छ उनीहरूले के गरे भन्ने र तपाईँले त्यसलाई रिपोर्टिङ गरिरहनु भएको छैन । त्यो आपराधिक कार्य हो । तपाईँ त्यस्तो हुन दिन सक्नुहुन्न’, उनले भनेका छन्, ‘त्यो तपाईँ र तपाईँको वकिल रायनका लागि ठूलो खतरा हो ।’
त्यसपछि, ट्रम्पले रफेन्सगोपरलाई उक्त राज्यको नतिजालाई पुनः परीक्षण गर्नुपर्ने बताएका छन् ।
ह्वाइट हाउसले भने हालसम्म उक्त विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
अन्य राज्यसहित जोर्जियामा पनि जो बाइडनले चुनाव जितेका छन् ।
बाइडनले कुल ३०६ इलेक्टरल कलेज मत पाएका छन् भने ट्रम्पले मात्र २३२ मत पाएका छन् ।
नोभेम्बर ३ को मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् तर उनले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन् ।
अमेरिकाका सबै ५० वटै राज्यले चुनावी नतिजालाई प्रमाणित गरिसकेका छन् ।त्यसका लागि केहीले पुनः मतगणना गरेका थिए भने केहीमा कानुनी सुनुवाइ पनि भएको थियो ।