स्पेनिस ला लिगा फुटबलमा आज (शुक्रबार) राति विभिन्न दुई खेल हुँदैछन् । आज हुने खेलमा शीर्ष स्थानको रियल मड्रिडले १७ औँ स्थानको आलाभेससँग प्रतिस्पर्धा गर्नेछ भने ग्रानाडाले रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ ।
ग्रानाडा र रियल सोसिडाडबीचको खेल नेपाली समय अनुसार राति ११ः१५ मा सुरु हुदाँ रियल र आलाभेसबीचको दास्रो खेल राति १ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै ला लिगाको उपाधि होडमा आफूलाई बलियो बनाउने मौका रियललाई छ । लिगमा ३४ खेल खेलेको रियल ७७ अंकसहित शीर्ष स्थानमा छ । एक खेल धेरै खेलेको बार्सिलोना ७६ अंकसहित दोस्रो स्थानमा छ ।
यो सिजन सुरुआती समयमा खराब प्रदर्शन गरेको रियल पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । आजको खेलमा जित निकालेमा रियलले चार अंकको अग्रता पाउनेछ ।
यस्तै आलाभेस रियललाई हराउँदै रेलिगेसन जोनमा पर्नबाट आफूलाई जोगाउने योजनामा छ ।