काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले हास्यरस भरिएको सम्बोधन मार्फत पार्टीको अर्काे प्रचण्ड–नेपाल समूहका नेताहरुप्रति व्यङ्ग्यहरुले आक्रमण गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित ओली समूहका कार्यकर्ताहरुको भेलामा प्रधानमन्त्री ओलीले उखान टुक्काहरुको वर्षात गरेर प्रचण्ड–नेपाल समूहलाई धित मर्ने गरी व्यङ्ग्यात्मक आक्रमण गर्नुभएको हो ।
प्रधाानमन्त्रीको सम्बोधन कुनै कमेडी सो भन्दा कम्ता नरहेको उखान टुक्का सुनेर छुटेको कार्यकर्ताहरुको हासोको फोहरा र तालीको गड्गडाहट अनि फुकिएको सिठीले झल्काउथ्यो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाललाई भेट्नु कुहिएर झरेका दुईवटा फूलको संज्ञा दिनुभयो । खिया लागेका दुईवटा ‘नटबोल्ट ’ फुत्किएपछि आफ्नो पार्टी गतिशील बनेको दाबी पनि प्रधानमन्त्रीले गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पार्टीमा को सक्कली र को नक्कली भन्नेबारे पनि प्रचण्ड नेपाललाई तिखो कटाक्ष गर्नुभयो । प्रचण्ड समूहले गरेको आन्दोलनप्रति लक्षित हुँदै ओलीले अलिअलि मान्छे त सिसीमा औषधि बिक्री गर्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै कटाक्ष गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टीबाट ओली निकालेको पत्र बोकेर निर्वाचन आयोग पुग्दा आयोगको आयुक्तहरु कति हाँसे होलान् भन्दै ‘जसको कटेरो, उसको पुच्छर बाहिर’ भनेर व्यङ्ग्य कस्नुभयो ।
प्रचण्ड–नेपाल गुटविरुद्ध व्यङ्ग्यात्मक भाषण गर्नुभएका ओलीले उपस्थित कार्यकर्ताहरुलाई भर मग्दुर मनोरन्जन दिनुभयो । उहाँले पार्टीमा सक्कली र नक्कली कोहो भन्नेबारे आफूलाई प्रशिद्ध कलाकार चार्ली च्याप्लिनसँग तुलना गर्नुभयो । उहाँले नेपालको अदालत ‘चार्ली च्याप्लिन’को खेल जस्तो नभएको भन्दै को असली हो भन्ने अदालतले चिन्न सक्ने बताउनुभयो ।
अदालतले जुँगा हेरेर, जेल लगाएको कपाल हेरेर, कुम हल्लाएकैबाट को असली भन्ने चिन्ने दाबी गर्दै प्रधानमन्त्रीले आफू आधिकारिक भएको र सूर्य चिन्ह आफूहरुसँग भएको दाबी गर्नुभयो । ओलीले पार्टी र सरकारका मामिलामा आगामी दिनमा निर्वाचन आयोग र सर्वोच्च अदालले गर्ने निर्णय आफ्नै पक्षमा हुने दाबी गर्नुभयो ।
अधिकांश समय प्रचण्ड नेपाल समूहको आलोचनामा बिताउनुभएका प्रधानमन्त्री ओलीले केही समय आफू नेतृत्वको सरकारले गरेका कामहरुको प्रसंसा गरेर बिताउनुभयो । नेपालको आर्थिक वृद्धि र समृद्धि देखेर विदेशीसमेत छक्क परेको दाबी गरेर ओलीले थप मनोरन्जन दिनुभयो । दुनियाँलाई नै आश्चर्य चकित हुने गरी आर्थिक वृद्धिदर र मानव सूचकाङ्कमा वृद्धि गरेको दाबी प्रधानमन्त्रीको थियो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने दाबी गर्नुभयो । छानो चुह्यो, पुरानो भयो। नयाँ बनाउँछु भन्दा छिमेकी कराएको भन्दै उहाँले व्यङ्ग्य गर्नुभयो । उहाँले प्रचण्ड–नेपाल समूहलाई निर्वाचनमा गएर दुई अंकको सिट ल्याएर देखाउन चुनौती समेत दिनुभयो । उहाँले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीमा फर्किए अझै केन्द्रीय कमिटीमा राखिराखेको समेत बताउनुभयो । ओलीले ‘तर अब फर्किएर उपद्रो मच्चाउन पाइँदैन। पार्टीको कार्यकर्ता झैँ बोल्नुपर्छ’ भन्दा सभामा फेरि हाँसो गुञ्जिएको थियो ।
यता प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड नेपाल समूहले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै उक्त समूहले पुष २० गतेदेखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । प्रमुख विपक्षी नेपाली कांग्रेस र जसपासँग सहकार्य गरेर संयुक्त संघर्ष गर्ने प्रयास सफल नभएपछि प्रचण्ड–नेपाल समूहले एक्लै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यो समूहका नेताहरुले केपी ओलीलाई गोमन सर्पको संज्ञा समेत दिएका छन् ।