काठमाडौं । दाङको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले संघीयता कत्तिको महत्वपूर्ण रहेछ भन्ने कुराको यर्थाथता कोरोना भाइरसको महामारीका बेला पुष्टि भएको बताउनुभएको छ ।
उहाँले अहिले महामारीमा जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले नै कोरोनाविरुद्ध सशक्त भएर जनचेतनामूलक कार्यक्रम संचालनदेखि क्वारेन्टाइन व्यवस्थापन लगायतका काम गरेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा उहाँले भन्नुभयो,‘ विगतमा संघियता खर्चिलो भयो भनेर विरोध भएको थियो, अहिले कोरोना महामारीमा सबैभन्दा बढी खटेर काम स्थानीय सरकारले गरेको छ, संघ र प्रदेश सरकारले त नीति निर्माण गरेर कार्यान्वयन गर्न निर्देशन दिए पुग्छ, हामीले स्थानीयवासीको माझमा रहेर उनीहरुसँगै त्यसविरुद्ध लडेर कोरोनालाइ थप भयावह बन्न दिएनौं ।’
स्थानीय सरकार चुनौतीलाई पनि अवसरका रुपमा ग्रहण गरेर काम गरिरहेको पनि प्रमुख केसीले बताउनुभयो ।
साथै उहाँले नगरपालिकाभित्र रहेर कृषिमार्फत जीविकोपार्जन गर्न चाहने युवा वर्गलाई थप प्रोत्साहन गर्न सहुलियत कर्जा प्रवाह गरिरहेको पनि जानकारी दिनुभएको छ ।
प्रमुख केसीसँग गरिएको कुराकानी सुन्नुहोस् !