काठमाडौ । हुम्लाबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जयपति रोकायाले सीमा क्षेत्रमा भएको धरपकड र तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुरा गर्दै उहाँले सीमामा तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो । विवादित सामुदायिक वन आफ्नो रहेको भनी भोटे समुदायले गरिरहेको दाबीका विषयमा बोल्दै सांसद रोकायाले भोटे समुदाय ऐतिहासिक रूपमा फिरन्ते प्रकृतिको रहेको र उनीहरूले केवल सो क्षेत्र भोगचलन मात्र गर्दै आएको स्पष्ट पार्नुभयो ।
भूमि र वनको स्वामित्व जेसुकै भए पनि बाजुराका नागरिकद्वारा भोटे समुदायमाथि गरिएको धरपकड र कुटपिट पूर्णतः मानवीयता विपरीत र निन्दनीय भएको उहाँले बताउनुभयो । यो समस्या सुल्झाउन हुम्ला जिल्लाका जनप्रतिनिधि, नापी विभाग र गृह मन्त्रालयसँग बसेर बाजुराका नागरिक तथा प्रशासनले आवश्यक समन्वय गर्नुपर्ने उहाँको भनाई छ ।अनैतिक तथा कानुनी हातमा लिने जोकोहीलाई कारबाही गरिने र चाँडै राजनीतिक निकास निकालिने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।
हुम्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण र सामुदायिक वनको स्वामित्वलाई लिएर दुई जिल्लाका स्थानीयहरूबीच मंगलबार उग्र झडप भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा बाजुरा पक्षले कवारीखोला नजिकै अस्थायी प्रहरी चौकी भवन निर्माण सुरु गरेपछि हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले उक्त क्षेत्र आफ्नो परम्परागत भोगचलनमा रहेको दाबी गर्दै अवरोध पु¥याएका थिए । विवाद बढ्दै जाँदा भएको भौतिक आक्रमणमा परी हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ र प्रहरी सहायक हवल्दारसहित कम्तीमा ५ जना घाइते भएका छन् । तनाव उच्च भएपछि काठमाडौँमा गृह मन्त्रालयका गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा हुम्लाका सांसद जयपति रोकाया र बाजुराका सांसद जनक गिरीबीच आकस्मिक छलफल भएको छ । बैठकले सीमा क्षेत्रमा शान्ति कायम गर्नका लागि बाजुरा जिल्ला प्रहरी कार्यालयले अगाडि बढाएको अस्थायी प्रहरी चौकी निर्माणको कामलाई तत्कालका लागि रोक्न निर्देशन दिएको छ।