काठमाडौं । प्रतिनिधि सभा विघटन पछि सरकार छाडेर सडकमा आएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहले दोस्रो चरणको आन्दोलनको तयारी गरेको छ । पहिलो चरणमा काठमाडौंसहित देशभर नेता कार्यकर्तालाई सडकमा उतारेर शक्ति प्रदर्शन गरेको सो समूहले दोस्रो चरणको कार्यक्रमलाई जिल्ला हुँदै स्थानीय तहसम्म लैजाने तयारी गरिरहेको छ ।
प्रचण्ड माधव समूहकी नेकपा नेतृ पम्फा भुषालले आज शनिबार बस्ने केन्द्रीय संघर्ष समितिको बैठकले दोस्रो चरणको संघर्षका कार्यक्रमको घोषणा गर्ने जानकारी दिनुभयो । विहान ११ बजेपछि बस्ने आजको बैठकले थप रणनीति सहित दोस्रो चरणको संघर्षका कार्यक्रमहरु बनाउने र घोषणा गरिने उहाँले बताउनुभयो ।
गत मंगलबार भएको पहिलो चरणको आन्दोलनको कार्यक्रम उत्साहजनक भएको निष्कर्ष सहित सो समूह संसद विघटनको विरुद्धमा देशव्यापी रुपमा संघर्षमा जाने निष्कर्षमा पुगेको हो। गत बिहिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको शीर्ष नेताहरुको बैठकमार्फत सो समूहले अबको आन्दोलनलाई अन्य दलहरुसँग समेत सहकार्य गरी अघि बढाउने विषयमा छलफल गरेको थियो ।
प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्च अदालतले फैसला गर्नु अगाडि नै अदालतलाई समेत दवाव पर्नेगरी देशव्यापी कार्यक्रम गर्नु पर्ने पक्षमा नेकपाका नेताहरु पुगेका छन् । उनीहरुले अन्य दलहरुलाई पनि सकेसम्म सँगसगै आन्दोलनका कार्यक्रम गर्न र नसके आ आफ्नो तरिकाले ओली विरुद्ध उत्रिन आग्रह पनि गरेका छन् ।
प्रतिनिधि सभा विघटनको बिरुद्धमा सर्वोच्च अदालतमा १४ वटा रिट परेका छन । त्यसमाथी सरकारसँग अदालतले जवाफ माग गरेको थियो । जवाफ दिने अन्तिम मिति भोली पुस १९ गतेलाई तोकिएको छ । प्रतिनिधि सभा विघटनको विवाद अदालतमा र पार्टी विभाजनको विवाद निर्वाचन आयोगमा पुगेर निर्णय प्रक्रियामा रहेकै बेला दुवै निकायलाई आफ्नो पक्षमा निर्णय गर्न अपत्यक्ष दवाव दिने रणनीति दुवै पक्षले अपनाएका छन् ।
निर्वाचन आयोगबाट औपचारिक रुपमा विभाजनको निर्णय हुन बाँकी भएपनि केन्द्रमा नेताहरु दुई खेमामा विभाजित भएसँगै प्रदेश हुँदै स्थानीय तहसम्म पनि पार्टी नेता कार्यकर्ताहरु विभाजित भइसकेका छन् । कतिपय ठाउँमा एक पक्षले अर्को पक्षका नेता कार्यकर्ताहरुलाई कारबाही गर्ने र छुट्टै कमिटि बनाउदै घोषणा गर्ने कार्य पनि भइरहेको छ ।