काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत र अल्पमतको टुंगो चुनावपछि हुने बताउनुभएको छ ।
प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्षसमेत रहेका उहाँले प्रचण्ड–माधव समूहसँग बहुमत भएको भए उनीहरु संसदीय अभ्यासअनुसार पार्टी बैठकमा आउने दाबी गर्नुभयो ।
ओलीले प्रचण्ड–माधव समूहले दुई अध्यक्ष घोषणा गरेकोमा समेत व्यंग्य गर्नुभएको छ । पार्टीमा देखिएको समस्याको सकारात्मक निकास निकालौं भनेर आफूले धेरै काँध थापेको तर केही नेता अलग भएको उहाँले बताउनुभएको छ ।
‘पार्टी फुटेको होइन केही नेता अलग भएर सडकमा गएका हुन् । आफूलाई ठूला नेता हुँ भन्नेहरुबाट तमासा देखाउने काम भएको छ’, ओलीले भन्नुभयो ।
उहाँले पार्टी बैधानिकताका लागि आफू निर्वाचन आयोग गएको नगएको र नजानेसमेत बताउनुभएको छ ।
यस्तै, प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटाले सरकारको प्रस्ताव संसद्मा पेस नगरेको आरोप लगाउनुभएको छ ।
उहाँले सभामुख सापकोटाले कीर्ते गरेको पनि आरोप लगाउनुभयो । प्रधानमन्त्रीविरूद्ध गत ५ गते दिउँसो ३ बजे दर्ता भएको अविश्वासको प्रस्तावलाई सभामुखले नै १०ः५५ मा दर्ता गरेको बनाएको पनि बताउनुभएको छ ।
सभामुखले अस्थिरता, अराजकतालाई बल पुग्ने काम गरेकाले संसद् विघटनको निष्कर्षमा पुग्नुपरेको पनि ओलीले जिकिर गर्नुभयो ।