काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको यतिवेला सामाजिक सञ्जालमा प्रसंशा भइरहेको छ । उहाँले राजनीतिक संस्कार देखाएको चर्चा कांग्रेसबृत्तमा र यदाकदा बाहिर पनि चलिरहेको छ ।
तनहुँको कांग्रेस राजनीतिमा ‘जानी द्ुष्मन’ मानिएका नेता गोविन्दराज जोशीलाई स्वास्थ्यलाभको कामना गरेको विषयलाई लिएर पौडेलको प्रशंसा भएको हो ।
‘उहाँको कति राम्रो राजनीतिक संस्कार, अरु नेताले पनि सिकुन्’, पौडेलको स्टाटस शेयर गर्दै फेसबुकमा खगेन्द्र भण्डारीले लेख्नुभएको छ ।
पूर्वमन्त्रीसमेत रहेका जोशी अहिले कोरोना भाइरस संक्रमण भएर काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
नेता पौडेलले उपचारत जोशीलाई स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मेरा सहयात्री नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशीजी कोभिड –१९ को संक्रमणको कारण अस्वस्थ भइ ह्याम्स अस्पताल काठमाडौंमा उपचाररत हुनुहुन्छ । उहाँको शिघ्र स्वास्थलाभको कामना गर्दछु ।’
पौडेल र जोशी तनहुँ कांग्रेसमा ‘जानी द्ुष्मन’ मानिन्छन् । गत निर्वाचनमा पौडलविरुद्ध जोशीले बागी उमेद्वार नै उठाएका थिए । त्यसपछि पौडलकै दवावमा जोशीलाई कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको थियो । अहिले पनि तनहुँमा पौडेल र जोशी समूह जीवितै छ ।
पटक–पटक मन्त्री भएका जोशीलाई भ्रष्टाचारको मुद्दा लागेको छ । उनीविरुद्धको मुद्दा अदालतमा विचाराधिन छ ।
