काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद् (प्रतिनिधि सभा) भंग गरेपछि भारतीय पक्षबाट पनि विभिन्न प्रतिक्रिया आएका छन् । प्रतिक्रिया दिनेमा पूर्वराजदूतदेखि लिएर पूर्वजर्नेलसम्म छन् । नेपालको संसद् भंग हुनुलाई कतिपय भारतका विज्ञले भारतीय पक्षको सफलताको रुपमा व्याख्या गरेका छन् ।
गत हप्ता मात्रै नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायले द इकोनोमिक टाइम्समा एउटा लेख लेख्दै चीनले नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलाउने खोजेको तर त्यो प्रयास असफल भएको निष्कर्ष निकालेका थिए ।
यसैबीच, अर्का पूर्वरादूत श्याम शरणले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।भारतीय पत्रिका द ट्रिब्युनमा एक लेख लेख्दै उनले नेपालमा नयाँ नेतृत्वमा चुनावी सरकार गठनको तयारी भएको संकेत गरेका हुन् ।
भारतका पूर्वसचिवसमेत रहेका शरणले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउँदै स्वच्छ छवि भएका व्यक्तिलाई नेतृत्व दिने तयारी भइरहेको दाबी गरेका छन् ।
‘नेपालमा अहिले ओलीलाई संसद् विघटनको निर्णय फिर्ता लिन दबाब बढिरहेको छ । उनलाई राजीनामाको लागि मनाउन विवादास्पद छवि नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ,’ उनले लेखेका छन् ।
नेपाल मामिलाका जानकार मानिने शरणले चीनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहित चार सदस्यीय टोली पठाएर नेकपालाई पुनः जुटाउने प्रयास गरेको बताएका छन् ।
‘दुई चिरा भएको नेकपालाई जोड्न चीनले अहिले ‘रेफ्री’को भूमिका खेलिरहेको छ । नेकपाभित्रको विवाद मिलाउन चीन सक्रिय रहे पनि भारत भने ‘पर्ख र हेर’ रणनीतिमा बस्नुपर्छ’, उनले लेखेका छन् ।
त्यस्तै, शरणले नेपालको पछिल्लो राजनीतिक संकट निम्तिनुमा अमेरिकाको पनि हात रहेको आशंका व्यक्त गरिएको चर्चा गरेका छन् ।
‘अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रस्तावित पाँच मिलियन अमेरिकी डलर बराबरको सम्झौताका कारण पनि नेपालमा राजनीतिक संकट निम्तिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ’, उनले लेखेका छन् ।