काठमाडौं । आन्तरिक खिचातानीका कारण दुई टुक्रा भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः मिलाउने उद्देश्यले नेपाल आएको चिनियाँ टोली अहिले सक्रिय छ ।
यसैबीच टोलीले नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । कम्युनिष्ट पार्टीको प्रतिनिधित्व गर्दै आएको चार सदस्यीय टोलीले बानेश्वरको एभरेष्ट होटलमा नेपाललाई भेटेको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचाऊ नेतृत्वको टोली र नेपालबीच भएको छलफलमा के कुरा भयो बाहिर आएको छैन । यद्यपि, चिनियाँ टोलीले नेकपा एकतामा जोड दिएको हुनसक्ने राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन् ।
यसअघि चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । खुमलटारपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर आएको हो ।
आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ ।
टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ । त्यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ ।