काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेर संसद विघटनकै स्थितिमा पुगेपछि चिनियाँ टोली आइतबार नेपाल आएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाऊले ६ सदस्यीय टोलीको नेतृत्व गरेका छन् । नेपाल आएलगत्तै टोलीले उच्चस्तरीय भेटघाट सुरु गरेको हो । टोलीले नेकपा विवाद मिलाउने प्रयास गरिरहेको छ ।
चिनियाँ टोलीले आज बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । प्रचण्डनिवास खुमलटार पुगेरै चिनियाँ टोलीको भेटवार्ता गरेको हो । आजै अर्का अध्यक्ष माधवकुमार नेपाललाई चिनियाँ टोलीले भेट्दैछ ।
आइतबार काठमाडौं उत्रिएलगत्तै उक्त टोलीले दूतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरिसकेको छ ।
टोलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । आज विहान प्रचण्डनिवास खुमलटार पुगी टोलीले भेटवार्ता गरेको हो ।
भेटमा नेकपालाई पुनः एक बनाउने विषयमा छलफल भएको बुझिएको छ । सहमतिको सूत्रबारे चिनियाँ पक्षले छलफल गरेको स्रोतले जताएको छ ।
यसैगरी, आजै चिनियाँ टोली कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमा पुग्दैछ । नेपालसँग पनि नेकपा पुनः एक बनाउने सूत्रबारे कुराकानी गर्ने बुझिएको छ ।