काठमाडौं । प्रतिनिधि सभा विघटनका विरुद्धमा आज पनि देशभरी विभिन्न विरोधका कार्यक्रमहरुको आयोजना गरिएका छन् । पार्टीगत रुपमा वा विभिन्न संघ संगठनहरुले पनि छुट्टा छुट्टै विभिन्न कार्यक्रमहरुको आयोजना गरेका हुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड माधव समुहले सबै जिल्लाहरूमा जिल्ला स्तरीय कार्यकर्ता भेला गर्न लागेको छ । सवै जिल्लामा स्थानीय कमिटिले तोकेको समय र स्थानमा कार्यक्रम हुने नेताहरुले जानकारी दिएका छन् ।
उनीहरुकै विद्यार्थी संगठनले पनि प्रतिनिधि सभा विघटनको विरुद्धमा विभिन्न ठाउँमा मसाल जुलुस निकाल्ने भएका छन् । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रथम चरणको आन्दोलन अन्तर्गत आज देशैभरी विरोध प्रदर्शनसहित ज्ञापन पत्र बुझाउने कार्यक्रम गर्न लागेको छ ।
राप्रपाले प्रधानमन्त्री ओलीको कदम सच्याउन, भ्रष्टाचार नियन्त्रण गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न र हिन्दु राष्ट्रसँगै राज संस्था पुनस्र्थापना गर्न माग गर्दै सवै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन लागेको हो । राप्रपाको काठमाडौ जिल्ला समितिले काठमाडौको माइतीघर मण्डलामा विहान साढे ११ बजे भेला भई जिल्ला प्रसाशन कार्यालय अगाडि प्रदर्शन गरेर ज्ञापान पत्र बुझाउने भएको छ ।
त्यसैगरी, राप्रपाकै जिल्ला कार्यसमिति ललितपुरले कुपन्डोलमा र जिल्ला कार्यसमिति भक्तपुरले जिल्ला पार्टी कार्यालय कमलविनायक भेला भइ सम्वन्धीत जिल्ला प्रशासन कार्यालयमा जाने कार्यक्रम तय गरेका छन । अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टी केन्द्रीय समितिले पनि प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध जुलुस सहित विरोध प्रदर्शन गर्ने भएको छ ।
सवै जिल्लामा हुने कार्यक्रम अन्तर्गत काठमाडौमा भने रत्नपार्कस्थीत शान्तिवाटिकाबाट जुलुस सुरु भई बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा आएर विरोध सभा हुने भएको छ । कार्यक्रम दिउसो साढे १२ बजेपछि हुने तय भएको जनता समाजवादीले जनाएको छ ।
कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राईले सम्बोधन गर्ने तय भएको छ ।
काठमाडौमै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं क्षेत्र नं ३ ले कार्यकर्ता भेलाको आयोजना गरेको छ । कार्यक्रम सुनगाभा पाटीप्यालेस, भगवती स्थानमा दिउसो साढे १ बजे हुने एक नेताले जानकारी दिएका छन् ।
नेकपाकै काठमाडौ क्षेत्र नम्बर ६ ले क्षेत्रिय अगुवा कार्यकर्ता भेला सौगात ब्याङ्क्वेट, गोंगबुमा दिउसो साढे २ बजेपछि हुनेगरी तय गरेको छ । विवेकशील साझा पार्टीले पनि प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदम विरुद्ध बेलुका विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । काठमाडौको शान्तीवाटिका रत्नपार्कमा अपराहन्ह ४ बजे विरोध सभा हुने भएको छ ।