काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ । अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वको प्रतिनिधिमण्डल चार दिने भ्रमणका लागि नेपाल आउन लागेको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनपछि पहिलो पटक हुन चिनबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।
चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री, नेकपाका दुवै खेमाको नेतृत्व र कांग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ ।
यसअघि पनि पटक–पटक देखिँदै आएको नेकपाको आन्तरिक विवादमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता रहँदै आएको थियो भने नेकपा विभाजन पछि पनि राजदूत यान्छीले प्रचण्ड, माधव नेपाल, कृष्णबहादुर महरा र नेता वर्षमान पुनलाई भेटेर छलफल गर्नुभएको थियो ।
प्रतिनिधिसभा विघटनका कारण नेपालमा उत्पन्न परिस्थितिको नजिकबाट अध्ययनका लागि चिनियाँ टोली आउन लागेको बताइएको छ ।