काठमाडौं । मुलुकमा राजनीतिक स्थायीत्वसँगै एकीकरण भई ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा दिएर सत्ता सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा अहिले दुई चिरा भएको छ । नेकपा फुट्नुअघिका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आरोप–प्रत्यारोपसँगै उत्कर्षमा पुगेको विवाद अन्ततः फुट्सम्म पुगेको हो ।
फुट्सम्म पुगेर पनि विवाद टुंगिएको छैन, अझ दुई समूहबीच आधिकारिक नेकपा को हुने र सूर्य चुनाव चिन्ह कसले पाउने भन्नेमा शक्ति संघर्ष चलिरहेको छ । अप्रत्यासित रुपमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनगरेसँगै नेकपा ओली समूह र प्रचण्ड–नेपाल समूहमा विभाजित भएर शक्ति संघर्ष चलिरहेको हो ।
राष्ट्रिय राजनीतिलाई अर्थहिन विवादमा अल्झिएर अवरोध गरिएपछि र पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिइएर घेराबन्दी गरेपछि यस्तो कदम चाल्न आफू बाध्य भएको दाबी प्रधानमन्त्री ओलीले गर्दै आएका छन् । प्रचण्ड–नेपाल समूहले भने प्रधानमन्त्री ओलीकै कारण यस्तो अवस्था सिर्जना भएको बताउँछन् । ओलीले पार्टीको निर्णय नमानेको, पार्टी र सरकारमा सर्वसत्तावाद लादेको अर्का पक्षले बताउने गरेका छन् ।
प्रधानमन्त्री ओलीले कदम–कदममा एकाधिकार लगाउन खोजेपनि पार्टी एकता रक्षाको लागि समान हैसियतको अध्यक्षबाट दुई नम्बर भएर, आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिको ठाउँमा पनि पाँचै वर्ष सरकार छोड्दा पनि सुख नपाएको प्रचण्डको गुनासो छ ।
संसद विघटनलाई अधिकांश संविधानविद्, कानूनविद् र राजनीतिक विश्लेषकहरुले असंवैधानिक भनेका छन् । प्रधानमन्त्री ओलीको उक्त कदमविरुद्ध सबै एक हुनुको विकल्पसमेत नभएको उनीहरु बताउँछन् । सरकारलाई काम गर्नका लागि कसैले अवरोध नगरेको भएपनि त्यस अवसरलाई प्रधानमन्त्री ओली आफैले खेर फालेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
संसदले दुई वर्षसम्म सरकारको काममा कुनै अवरोध नगरेको बरु प्रधानमन्त्री ओली आफै त्यसमा असक्षम भएको राजनीतिक विश्लेषक मुमाराम खनालको टिप्पणी छ । नेकपा भित्रको विवादका कारण संसद विघटन भएपछि त्यसविरुद्ध ओली समूहबाहेकका अन्य सबै राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् ।
प्रधानमन्त्री ओलीले असंवैधानिक, लोकतन्त्र तथा संघीयतालाई नै धरापमा पार्ने कदम चालेको भन्दै नेकपामा प्रचण्ड–नेपाल समूह, विपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहित अन्य स–साना राजनीतिक दलपनि त्यसको विक्षमा उभिएका छन् ।