नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रीय कमिटी र स्थायी कमिटी निर्णयबाट दिइएको कार्यकारी अधिकार बदर गरेको छ । उहाँलाई अध्यक्षबाट हटाइएको छैन तर केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको जिम्मेवारी बहन गर्न नसकेकाले उहाँको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरिएको बताइएको छ ।
ओली पक्षले बिहीबार नै विधानमा पनि प्रथम अध्यक्ष (ओली) मात्रै हस्ताक्षर चल्ने गरी संशोधन गरी निर्वाचन आयोगमा दर्ता गरिसकेको छ।यस्तै बैठकले सातै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ ।
जसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ ।