काठमाडौं । २ समुहमा विभाजित नेकपामा अब स्वामित्वको लडाँइ हुने देखिएको छ । केपी शर्मा ओली पक्ष तथा पुष्पकमल दाहाल र माधव नेपाल पक्षलेआज छुट्टाछुट्टै केन्द्रिय समितीको बैठक राखेर नेकपाको बैधता दावी गरेसँगै अब दुइ पक्षबीच स्वामित्वको लडाँइ हुने देखिएको हो । आज प्रधानमन्त्री समेत रहनुभएका ओलीले वालुवाटारमा आफुपक्षिय केन्द्रिय सदस्यहरुको भेला राखेर नेकपाको स्वामित्व आफुँसँगै रहेको उदघोष गर्नुभयो ।
दाहाल नेपालसमूहको बैठक आधिकारिक नहुने भन्दै ओली पक्षिय भेलाले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट आज मात्रै प्रवक्ताको जिम्मेवारी पाउनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना बसको बैठकको निर्णयको कुनै वैधानिकता नहुने जिकिर गर्नुभयो । पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको तर्क थियो ।
हाल निर्वाचन आयोगको अभिलेख अनुसार नेकपाका केन्द्रिय सदस्यको ४४७ जना रहेको उल्लेख छ । त्यसमा केही सदस्यहरुको मृत्यु तथा विभिन्न निकायमा नियुक्तिका कारण संख्या केही कम भएको छ । त्यस अनुसार बहुमत सदस्य जुन पक्षमा हुन्छन् त्यहि अनुसार नेकपाको स्वामित्व रहने राजनीतिक विश्लेषकहरुले बताइरहेका छन् ।
बहुमतलाई आधार मान्ने हो भने नेकपाको स्वामित्व दाहाल नेपाल पक्षले पाउने देखिन्छ । किनकी आजको दाहाल नेपाल पक्षिय भेलामा ३१० बढी केन्द्रिय सदस्यले हस्ताक्षर सहित उपस्थिती देखाएको उक्त समुहले दावी गरेको छ ।
झण्डै दुइ तिहाइ केन्द्रिय सदस्य उपस्थित भएपछि दाहाल नेपाल समुहले नेकपाको बैधता आफुहरुसँग रहेको बताएको छ भने ओली समुहको भेलालाई गुट भेला बताएको छ । ओली समुहले प्रवक्ताबाट हटाएपनि आफु कुनै समुहको नभएर नेकपाकै प्रवक्ता रहेको नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।
यसअघि आजै अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक गरी ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेर सपथ खुवाएका थिए । आफ्नो पक्षमा केन्द्रिय सदस्यको संख्या न्यून हुने भएपछि एकाएक सयौंको संख्यामा केन्द्रिय सदस्य थपेर ओली पक्षले बहुमत देखाउन खोजेको दाहाल नेपाल पक्षको आरोप छ ।
यो बीचमा दाहाल नेपाल पक्षले स्थायी कमिटीको निर्णय तथा केन्द्रिय कमिटीको निर्णय निर्वाचन आयोगमा जानकारी गराएको छ भने ओली पक्षले पनि विस्तारित केन्द्रिय कमिटीको नामावली आयोगमा बुझाएको छ ।
दुवै पक्षले नेकपाकै व्यानरमा भेला राखी पार्टीको बैधता आफ्नो रहेको जोडदार दावी गर्नुले स्वामित्वको विषयदुवै पक्षको पहिलो प्राथमिकतामा परेको देखिन्छ ।यसमा संसद विघटनका सम्बन्धमा सर्वोच्चले दिने अन्तिम फैैसलाले पनि फरक पार्ने छ ।
सर्वोच्चले संसद पुर्नस्थापित गरेको खण्डमा संवैधानिक र राजनीतिक हिसाबले पनि नेकपाको स्वामित्व दाहाल नेपाल पक्षको पोल्टामा पर्ने छ । यद्यपी नेकपाको बैधता कुन पक्षसँग रहने भन्ने अन्तिम निक्र्यौल चाहि निर्वाचन आयोगले दिने निर्णयमा भर पर्ने छ ।