काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा भएको भेलाबाट केन्द्रीय समिति विस्तार गर्ने निर्णय लिएकोप्रति गम्भीर आपत्ति जनाउनु भएको छ ।
उहाँले १ तिहाई केन्द्रीय सदस्य भएको बैठकले झण्डै २ तिहाई सदस्य संख्या थप्नु स्वीकार्य हुन नसक्ने बताउनुभयो ।
बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो । यसअघि रहेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्ष भित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने अभिभारा पाएपनि काम गर्न नसककोले सदस्यको संख्या विस्तार ओली पक्षको तर्क छ । जसमा हाललाई १ हजार ३ सदस्सीय बनाइएको छ भने बाँकी संख्या क्रमशः थपिने छ ।
तर प्रचण्डले आफूपक्षीय केन्द्रीय समिति बैठकमा ओलीले बोलाएको बैठक अवैधानिक रहेको जिकिर गर्नुभयो । उहाँले आफूहरुले बोलाएको बैठक नै वैधानिक रहेको समेत बैठकलाई सम्बोधनका क्रममा बताउनुभयो । ‘निर्वाचन आयोगलाई म भन्न चाहन्छु । यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ । संविधान, नियम कानुन अनुसार यो वैधानिक नेकपा हो’, उहाँले भन्नुभयो ।
संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन् भन्ने विश्वासमा आफू रहेको पनि उहाँले बताउनुभयो । प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने पनि बताउनुभएको छ ।
उहाँले दुई नेतासँग आफूले मंगलबार बिहानमात्रै कुराकानी गरेको भन्दै उहाँहरुलाई यो बैठकले देख्न चाहेको पनि बताउनुभयो ।
प्रचण्डले आफूहरुले नै नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रतिनिधित्व गरेको दावी पनि गर्नुभयो ।