काठमाडौं । नेकपा (ओली समूह)को प्रवक्तामा प्रदीप ज्ञवाली चयन हुनुभएको छ । बालुवाटारमा भएको ओली समूहको बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको हो । केन्द्रीय सदस्य कृष्ण राईका अनुसार पार्टी हितविपरीत काम गरेको भन्दै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई राखिएको हो ।
यस्तै, ओलीले केन्द्रीय सदस्यहरु थप गरेर बालुवाटारमा नै शपथ ग्रहण गराउनु भएको छ । उहाँले सोमबार थप गरेको भनिएका सदस्यहरुलाई आजको बैठकमा बोलाउनु भएको थियो । ४४७ जना सदस्य रहेकोमा ५५६ जना थप गर्ने निर्णय गर्नु भएको थियो । आज उपस्थित भएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
आज नै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समुहले पनि केन्द्रीय समितिको बैठक बसिरहेको छ । दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने नेकपाकै नेताहरुले बताएका छन् ।