काठमाडौं । राजनीतिक बिश्लेषक डा. राजेश अहिराजले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको बाध्यात्मक कदम भएको बताउनुभएको छ । पार्टीभित्रकै नेताहरुले सरकारलाई असफल सावित गर्न हर–कोसिस गरेकाले प्रधानमन्त्रीले संसद् विघटन जस्तो कठोर कदम चाल्नुभएको उहाँको दावी छ ।
सरकारलाई जनपक्षीय काम गर्न नदिने, प्रधानमन्त्रीलाई अनिर्णयको बन्दी बनाउने र जुनसुकै बेला पनि देशभन्दा बढी पार्टीलाई महत्व दिएर सरकारलाई अलोकप्रिय बनाउने षडयन्त्र भएकाले प्रधानमन्त्री ओलीले यस्तो बाध्यात्मक कदम उठाउनुभएको उहाँको भनाइ छ ।
“संसद् विघटन अहिले क्षणिक रुपमा अलोकप्रिय देखिएको भएता पनि यो मुलुकको हितमै छ । ताजा जनादेश लिएर आउने भनिसकेपछि त्यो जनताको हितमा हुन्छ ” नेपाली नेटवर्कसँगको कुराकानीमा डा. अहिराजले भन्नुभयो ।
सरकारलाई सफल बनाउने, सघाउने नियत पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केही नेताहरुमा नदेखिएपछि प्रधानमन्त्रीले गहनरुपमा सोचविचार गरेर संसद् विघटनको निर्णय लिनुभएको डा. अहिराजको तर्क छ ।