काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न सिफारिस गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिइएको छ ।
केही मन्त्रीको विरोधका बाबजुद ओलीले आज बिहान संसद् विघटनका लागि राष्ट्रदेवी विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै प्रतिक्रिया स्वरुप नेकपाको दाहाल–नेपाल पक्षले आफू निकट मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् ।
नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्ड र नेपाल दुवैले आफू निकट रहेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।
यता, नेकपाको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।
बालुवाटारमा भइरहेको बैठकमा संसद् विघटन र प्रधानमन्त्री ओलीको पछिल्लो कदमबारे छलफल भइरहेको र प्रधानमन्त्रीलाई कारबाहीको पनि सिफारिस हुन सक्ने नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।