काठमाडौं । राजनीतिक विशलेषक युग पाठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको सिफारिस अलोकतान्त्रिक भएको बताउनुभएको छ ।संविधानअनुसार प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षे रहेको भएता पनि प्रधानमन्त्री ओलीको समयअगावै विघठनको प्रस्ताव गरेकाले उहाँको कदम अलोकतान्त्रिक रहेको पाठकको भनाइ छ ।
‘संविधानले गरेको व्यवस्थाअनुसार सरकारले संसद् विघटन गर्न मिल्दैन । त्यसैले, प्रधानमन्त्री ओलीले विघटनको सिफारिस गर्नु अदूरदर्शी र आत्मघाती कदम हो’, नेपाली नेटवर्कसँगको कुराकानीमा पाठकले भन्नुभयो ।
प्रधानमन्त्री ओलीको संसद् विघटनको प्रस्ताव गरेपछि अब त्यसले संवैधानिक व्याख्याका लागि अवसर पनि दिएको उहाँले उल्लेख गर्नुभएको छ ।
संविधानमा प्रावधान नहुनका बावजुद पार्टीको आन्तरिक विवादका कारण ओलीले संसद् विघठनको प्रस्ताव गरेको दाबी गर्दै पाठकले यो कदम गलत भएको टिप्पणी गर्नुभएको छ ।
पाठकका अनुसार प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गरे संवैधानिक जटिलता निम्त्याउने निश्चित छ ।
‘प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले के भन्नुहुन्छ हेरौं । प्रस्ताव कानुनी रुपमा असंवैधानिक र अवैध छ’, उहाँले भन्नुभएको छ ।