काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । योबीचमा शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति जुट्न सकेको छैन ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै पनि आफ्नो अडानबाट पछि नहट्दा विवाद ज्युँका त्युँ छ । आजको बैठकमा पनि विवाद समाधान हुने संभावना न्यून छ । बैठक दिँउसो १ बजे बालुवाटारमा बस्ने तय भएको छ ।
यसअघि पौष १ मा बसेको स्थायी कमिटी बैठकमा चौतर्फी विवादित बनेको संवैधानिक परिषद्सम्बन्धी अध्यादे फिर्ता लिने निर्णय भएको थियो । तर उक्त निर्णय कार्यान्वयनमा प्रधानमन्त्री ओलीले आलटाल गरेको भन्दै प्रचण्ड–नेपाल समूह थप रुष्ट बनेको छ ।
हिजो दिनभर प्रधानमन्त्री ओलीले सहमतिका लागि प्रचण्डलगायत पार्टीका नेताहरुसँग भेटघाट गर्नुभएको थियो । प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो, तर प्रचण्डले भने प्रस्ताव फिर्ता लिन अस्वीकार गर्दै स्थायी कमिटीमै छलफल गर्ने अडान लिनुभएको छ ।
प्रचण्डसहित दोस्रो तहका अन्य नेताहरुसँग भेट्दै ओलीले साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि भेट्नुभएको थियो । अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ ।
सचिवालयले विवाद समाधानको विन्दु पहिल्याउन नसकेपछि अहिले सो विवाद स्थायी कमिटीमा पुगेको छ । दुवै अध्यक्षबीच संवाद र छलफलमार्फत पार्टीभित्रको विवाद समाधान गर्ने प्रयासहरु भइरहेको नेताहरुले बताउँदै आएका छन् ।