काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित ‘आरोपपत्र’ फिर्ता लिन आग्रह गर्नुभएको छ ।
प्रचण्ड निवास खुमलटार पुगेर ओलीले पार्टीको बैठकमा प्रस्तुत लिखित प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको हो । जवाफमा अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटीको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।
स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा दुई अध्यक्षबीच छलफल भएको हो । दुई अध्यक्षबीचको छलफल चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुग्नु भएको थियो ।
प्रधानमन्त्री ओली बाहिरिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुग्नुभएको थियो ।
लिखित प्रस्तावको दोहोरी चलिरहेका बेला ओलीले संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश जारी गरेपछि नेकपा भित्रको विवाद र संकट थप गहिरिएको छ ।
खुमलटारबाट बाहिरिएपछि प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुग्नुभएको छ । त्यहाँ उनीहरुबीच ‘वान टु वान’ भेटवार्ता भएको छ ।
त्यस्तै ओलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई पनि भेटवार्ता गर्नुभएको छ ।