काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज खुमलटार पुुग्नुुभएको छ ।
ओली र प्रचण्डबीच अहिले खुमलटारमा छलफल चलिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली पहिलोपटक प्रचण्डलाई भेट्न उहाँकै निवासमा जानुभएको हो । त्यसैले, करिब तीन वर्षपछि ओली प्रचण्ड निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसैबीच, ओली र प्रचण्डबीच शुक्रबार पनि बालुवाटारमा भेट भएको थियो । तर, सो भेट आरोप–प्रत्योरोपमै सीमित भएको स्रोत बताउँछ ।
शुक्रबार कुरा नमिलेपछि उनीहरुबीच आज पुनः भेट भएको हो ।
संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक अध्यादेश ल्याएसँगै नेकपा विवाद झनै उत्कर्षमा पुगेको छ । प्रचण्डले अध्यादेशको खुलेरै विरोध गरिहेका छन् ।
पार्टीको आन्तरिक विवाद चरम उत्कर्षमा पुगिरहेका वेला ओली प्रचण्डलाई भेट्न यसरी खुमलटार गएपछि राजनीतिले नयाँ मोड लिएला कि भन्ने अड्कलबाजी हुन थालेका छन् ।
शुक्रबार मात्रै प्रचण्ड र माधवकुमार समूहले पेरिसडाँडामा प्रदेश –१ का जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेको थियो ।
पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका वेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका छन् ।